चुनाव: उत्सव कि उत्तरदायित्व ?
🗳️ चुनाव: उत्सव कि उत्तरदायित्व ?
हामी चुनावलाई पर्वजस्तै मनाउँछौं। लाइन लागेर भोट हाल्छौं, औंलाको मसी देखाएर गर्व गर्छौं। तर के लोकतन्त्र केवल त्यही एक दिनमा सीमित छ? मतदान लोकतन्त्रको अन्तिम लक्ष्य होइन । यो त सुरुवात मात्र हो। यदि नागरिकको भूमिका मतपेटिकासम्म सीमित हुन्छ भने, त्यो पूर्ण लोकतन्त्र होइन, त्यो अधुरो अभ्यास हो।
🗳️ “मतदान” शब्दभित्र लुकेको मनोविज्ञान
“मतदान” शब्दलाई छुट्याएर हेर्दा मत + दान। हाम्रो नेपाली संस्कृतिमा “दान” को अर्थ के हो?
-
गरिब–दुःखीलाई दिइने सहयोग
-
मन्दिरमा श्रद्धापूर्वक अर्पण
-
सुदामाको कथाजस्तै निःस्वार्थ समर्पण
-
फिर्ताको अपेक्षा नगरी दिइने वस्तु
दान दिइसकेपछि त्यसको हिसाब मागिँदैन। दान फिर्ता लिन खोजिँदैन। त्यसैले प्रश्न उठ्छ :
के लोकतन्त्रमा “मत” पनि त्यस्तै दान हो?
के हामी आफ्नो मत एक दिन अर्पण गरेर पाँच वर्ष मौन बस्न बाध्य छौं?
🏛️ लोकतन्त्र कि भीडतन्त्र?
Plato ले लोकतन्त्रप्रति सधैं आशावादी दृष्टिकोण राखेनन्। उनको चिन्ता थियो । भीडको भावनाले अयोग्य नेतृत्व चयन गर्न सक्छ। आजको सन्दर्भमा हेर्दा, के हाम्रो मतदान संस्कार भावनात्मक दानमा बदलिएको छैन?
-
नीतिभन्दा नारा
-
योग्यताभन्दा जात–पार्टी
-
क्षमताभन्दा करिश्मा
-
विचारभन्दा भीड
यदि मत “दान” हो भने, नेताले पनि त्यसलाई “दानमा पाएको वस्तु” जस्तो व्यवहार गर्न सक्छन् ।स्वविवेकले चलाउने, जवाफदेहिता नमान्ने।
🌱 लोकतन्त्र एक दिनको पर्व होइन
जब हामी मतलाई धार्मिक कर्मझैँ दान ठान्छौं, त्यतिन्जेल नेता पनि त्यसलाई दानमै पाएको सम्पत्ति ठान्नेछन्।लोकतन्त्र दानले चल्दैन। लोकतन्त्र सजग नागरिकले चलाउँछ। मत दिनु अन्तिम कर्तव्य होइन । त्यो त पहिलो कदम मात्र हो।
✍️ देश नेताले होइन, नागरिकले बनाउँछन्
नेता परिवर्तनले मात्र देश बदलिँदैन। नागरिकको सोच र सहभागिताले परिवर्तन सम्भव हुन्छ। चुनावमा भोट हाल्नु कर्तव्य हो। तर त्यसपछि चुप लाग्नु कमजोरी हो। देश बनाउने जिम्मा केवल संसद् भवनभित्र सीमित छैन । त्यो प्रत्येक सचेत नागरिकको हातमा छ।
लोकतन्त्र प्रतीक्षामा होइन, अभ्यासमा बाँच्छ।
Comments
Post a Comment